यस्तो छ बौंदीकालीको बेलभञ्ज्याङ मतदान केन्द्रको तयारी 


रकुवा — पूर्वी नवलपुरको क्षेत्र नं. २ स्थित बौंदीकाली गाउँपालिकाको वडा नं. ३ स्थित बेलभञ्ज्याङ माविमा मतदानको तयारी पूरा भएकाे छ ।

बिहीबार बिहानदेखि मतदान सुरु हुने यस केन्द्र साबिक रकुवा गाविस र हालको बौंदीकाली गाउँपालिकाको वडा नं. ३ को एकमात्र मतदान केन्द्र हो ।

पूर्वी नवलपुरको पहाडी क्षेत्रको यस मतदान केन्द्र लुम्बिनी प्रदेशको पाल्पाका साथै गण्डकी प्रदेशकै तनहुँसँग सिमाना जोडिएको छ । यस मतदान केन्द्रमा १६४२ मतदाता रहेको निर्वाचन अधिकृत नरेन्द्र भण्डारीले जनाए ।

प्रहरी नायब निरिक्षक (सई) गोविन्द आचार्यको कमाण्डमा रहेको १५ जनाले यस मतदान केन्द्रको सुरक्षा दिनेछन् । त्यसबाहेक सशस्त्र प्रहरी बल र नेपाली सेनाले पनि बाहिरि सुरक्षा दिने छ ।

यसअघिका निर्वाचनहरु शान्तिपूर्ण रुपमा सम्पन्न हुने यस मतदान केन्द्रमा यसपटक पनि सुरक्षा संवेदनशील नभएको विश्लेषण गरिएको छ ।

‘अहिलेसम्म मैले भोगेका कुनै पनि निर्वाचनमा यहाँ झै–झगडा भएको थाहा पाइएको छैन । त्यसैले यसपटक पनि यहाँ शान्तिपूर्ण नै निर्वाचन हुन्छ, त्यसका लागि स्थानीयहरु नै सजग छौं,’ मत दिनका लागि काठमाडौंबाट बेंलभञ्ज्याङ पुगेका स्थानीय मतदाता यज्ञ पाण्डेयले बताए ।

प्रतिक्रिया