
कराचीस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर तोडफोड र आगजनी
काठमाडौं- इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्युपछि पाकिस्तानको कराचीमा व्यापक विरोध प्रदर्शन भएको छ।
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको विरोधमा स्थानीय समूहहरू सडकमा उत्रिँदै कराचीस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा आक्रोशित समूह दूतावासको प्रवेशद्वारतर्फ अघि बढ्दै तोडफोडमा उत्रिएको तथा केही स्थानमा आगजनीसमेत भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनापछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
स्थिति तनावपूर्ण बन्दै गएपछि सुरक्षा निकायले प्रदर्शन नियन्त्रणमा लिन उच्च सतर्कता अपनाएको जनाइएको छ।
यस्तै, इराकको राजधानी बगदाद मा पनि तनाव बढेको बताइएको छ। सयौँ प्रदर्शनकारीले अमेरिकी दूतावास रहेको कडा सुरक्षा घेराभित्रको ग्रीन जोन क्षेत्रमा प्रवेश गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।



कागजपत्र |
