
इजरायल–इरान तनावबीच नेपालीलाई घरमै बस्न परराष्ट्रको आग्रह
काठमाडौं- परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। शनिबार जारी गरिएको ‘ट्राभल एड्भाइजरी’ मार्फत मन्त्रालयले सकेसम्म घरभित्रै सुरक्षित रहन र अनावश्यक आवतजावत नगर्न अनुरोध गरेको हो।
इजरायल र अमेरिकाद्वारा इरानमाथि संयुक्त आक्रमण भएपछि क्षेत्रीय तनाव चुलिएको छ। यस परिप्रेक्ष्यमा नेपाल सरकारले अवस्थालाई गम्भीर रूपमा नियालिरहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपालीलाई सम्बन्धित देशका सुरक्षा निकायले जारी गरेका निर्देशनहरू कडाइका साथ पालना गर्न अपिल गरेको छ।
मन्त्रालयले पूर्वअनुमति बिना यात्रा नगर्न र सम्भावित जोखिमबाट जोगिन सावधानी अपनाउन सुझाव दिएको छ। कुनै समस्या परेमा काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अबिबस्थित नेपाली दूतावास र दोहास्थित नेपाली दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
इजरायल वा इरान जाने योजना बनाएका नेपालीलाई हालको अस्थिर अवस्था सामान्य नभएसम्म यात्रा स्थगित गर्न सल्लाह दिइएको छ। साथै अन्य मध्यपूर्वी मुलुकहरूमा रहेका नेपालीलाई पनि स्थानीय प्रशासनको निर्देशनअनुसार सतर्क रहन भनिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार हाल इजरायलमा करिब ८ हजार नेपाली कार्यरत छन्, जसमा ६ हजार वैध र २ हजार अवैध छन्। इरानमा भने ८ जना नेपाली रहेका छन्।
आपतकालीन सम्पर्कका लागि:
-
परराष्ट्र मन्त्रालय: +९७७–९८६२६७८४३७
-
नेपाली दूतावास, तेल अबिब: +९७२–५४५५८२०७७
-
नेपाली दूतावास, दोहा: +९७४–६६२१४४१९



कागजपत्र |
