भ्रष्टाचार काण्डमा मुछिएका इन्स्पेक्टर दुई महिनाअघि भएका थिए ‘बेस्ट पुलिस अफ द मन्थ’


काठमाडौं – पुसमा ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित इन्स्पेक्टर पुष्करराज पन्त दुई महिनामै भ्रष्टाचार काण्डमा मुछिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय, बाँकेमा भएको अनियमितताबारे छानबिन गर्दा उनलाई र उनका चार ट्राफिक प्रहरी सहयोगीसहित ३३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। हाल इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित गरेको थियो ।

अख्तियारका अनुसार पन्त र उनका सहकर्मीहरूले सवारी चालक अनुमतिपत्र वितरणमा संगठित रुपमा घुस असुल्दै परीक्षा असफल भएकालाई पास गराउने अभ्यास गर्दै आएका थिए। यस आरोपअनुसार उनीहरूबाट ३३ लाखदेखि ४७ लाख रुपैयाँसम्म बिगो राखिएको छ।

मुद्दा दायर व्यक्तिहरूमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रमुख इन्स्पेक्टर पुष्करराज पन्त, वरिष्ठ नायब निरीक्षक नन्दकुमार पोखरेल, प्रविण पोखरेल र प्रहरी सहायक निरीक्षक दमन बिक्रम सेन रहेका छन्। इन्सपेक्टर पन्त हाल इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत छन्।

अख्तियारले गत वर्ष चैतमा यातायात कार्यालय, बाँकेका कम्प्युटर अधिकृत शक्ति ठाकुरसहित चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा ट्राफिक प्रहरी र कार्यालयका कर्मचारीबीच भएको घुसको पर्दाफास भएको थियो।

यातायात कार्यालयमार्फत पास नहुने व्यक्तिलाई पास गराई लाइसेन्स उपलब्ध गराउने र त्यसको बदला घुस लिने यो घोटाला सार्वजनिक भएपछि, पूर्व “बेस्ट पुलि अप मन्थ” घोषित इन्सपेक्टरको छवि धुमिल भएको छ।

प्रतिक्रिया