
बालेन र रविको तस्बिर अंकित होली टी–सर्ट जफत
विराटनगर – प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कोशी प्रदेशको राजधानी विराटनगरबाट प्रहरीले १ हजार ५ सय थान टी–सर्ट र भेष्ट जफत गरेको छ। निर्वाचनको मौन अवधि सुरू हुन केही दिन बाँकी रहँदा बजारमा खुला रूपमा बिक्रीका लागि राखिएका राजनीतिक सन्देश र नेताहरूको तस्बिर अंकित सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जफत गरिएका अधिकांश सामग्रीमा रवि लामिछाने र बालेन्द्र शाहको संयुक्त तस्बिर छापिएको थियो। केही टी–सर्टमा उनीहरूको नामसँगै राजनीतिक सन्देश पनि उल्लेख गरिएको पाइयो। बजारमा खुला रूपमा बिक्रीका लागि राखिएका यस्ता सामग्रीको निगरानीमा प्रहरीले वृद्धि गरेको छ। होली पर्वको पूर्वसन्ध्यामा युवापुस्तालाई लक्षित गर्दै ल्याइएको सामग्री निर्वाचन आचारसंहिताविपरीत प्रचार सामग्री बन्न सक्ने निष्कर्ष प्रहरीले निकालेको छ।
प्रहरीका अनुसार पसलको अगाडि प्रदर्शनका लागि राखिएका मात्र नभई गोदाममा भण्डारण गरिएका सामग्री पनि बरामद गरिएको छ। कोशी प्रदेशका प्रहरी प्रवक्ता योगेन्द्रसिंह थापाले रंग पर्व होलीको पहिलो दिन फागुन १८ गतेदेखि मौन अवधि लागू हुने र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने सन्दर्भमा बजारमा यस्ता सामग्री बिक्री हुनु संवेदनशील विषय भएको बताए।
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा कुनै पनि प्रकारको प्रचार सामग्री उत्पादन, प्रदर्शन, वितरण वा बिक्री गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उनले सो व्यवस्था कार्यान्वयन गर्न पूर्वसावधानीस्वरूप टी–सर्ट र भेष्टहरू नियन्त्रणमा लिइएको स्पष्ट पारे। व्यापारीले होली लक्षित डिजाइनका रूपमा सामग्री बिक्री गरेको दाबी गरे पनि मौन अवधि नजिकिएकाले मतदातामाथि प्रभाव पार्न सक्ने निष्कर्षसहित नियन्त्रणमा लिइएको छ। प्रारम्भिक चरणमा व्यापारीहरूलाई सचेत गराइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
