
फेललाई पास बनाएर लाइसेन्स: प्रहरी इन्सपेक्टरसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका क्रममा घुस लेनदेन भएको पुष्टि भएपछि नेपाल प्रहरीका एक इन्सपेक्टरसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय, बाँकेमा भएको अनियमितताबारे छानबिन गर्दा चार जना ट्राफिक प्रहरीसहित ३३ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
मुद्दा दायर हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रमुख इन्सपेक्टर पुष्करराज पन्त, प्रहरी वरिष्ठ नायब निरीक्षक प्रबिण पोखरेल र नन्दकुमार पोखरेल तथा प्रहरी सहायक निरीक्षक दमन बिक्रम सेन रहेका छन्।
इन्सपेक्टर पन्त हाल इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत छन्। उनीमाथि ४३ लाख १४ हजार रुपैयाँ घुस लिएको आरोप लगाइएको छ।
अख्तियारले गत वर्ष चैत महिनामा यातायात कार्यालयका कम्प्युटर अधिकृत शक्ति ठाकुरसहित चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। सो अनुसन्धानका क्रममा ट्राफिक प्रहरी र कर्मचारीको घुस लेनदेन सार्वजनिक भएको हो।
परीक्षामा असफल भएका सेवाग्राहीलाई पास गराई लाइसेन्स प्रदान गर्ने तथा त्यसबापत यातायात कार्यालयमार्फत घुस असुल्ने गरेको अभियोग अख्तियारको दाबी छ।
Skip to PDF content


कागजपत्र |
