देउवा सिंगापुर पुग्दा आरजु भारतमा


काठमाडौं-  प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवा मुलुक बाहिर रहेका छन् ।

आरजु राणा देउवा विगत पाँच दिनदेखि दक्षिणी छिमेकी मुलुक भारत भ्रमणमा रहेकी छन् भने देउवा बुधबार राति स्वास्थ्योपचारको फलोअपका लागि सिंगापुर प्रस्थान गरेका हुन् ।

देउवानिकट कांग्रेस नेताहरूका अनुसार बुधबार राति उनको रक्तचाप अचानक बढेपछि थप स्वास्थ्य परीक्षण र उपचारको फलोअपका लागि उनी स्वकीय सचिव भानु देउवासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर उडेका हुन् । देउवा यसअघि पनि पटक–पटक स्वास्थ्य उपचारका लागि सिंगापुर जाने गरेका थिए ।

यता देउवा पत्नी आरजु राणा देउवा भने धार्मिक भ्रमणमा भारत पुगेकी छन् । उनी उज्जैनस्थित महाकालेश्वर मन्दिर मा पूजा–दर्शन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

आरजु अझै करिब पाँच दिन भारतमै रहने देउवानिकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया