शेखर कोइरालाको प्रतिबद्धता: सरकारी अस्पताल सुधारदेखि सुकुम्बासीलाई लालपुर्जासम्म


मोरङ-  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मोरङ–६ मा आयोजित क्षेत्रीय सभालाई सम्बोधन गर्दै सरकारी अस्पतालको सेवा विस्तार, स्थानीयस्तरमै कलेज स्थापना तथा सुकुम्बासी समस्या समाधानका लागि ठोस र परिणाममुखी पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

मोरङ–६ बाट कांग्रेस उम्मेदवार रहेका डा. कोइरालाले स्थानीय सरकारी अस्पतालको सेवामा अझै गम्भीर सुधार आवश्यक रहेको औंल्याए। विशेषगरी प्रयोगशाला (ल्याब) र रगत परीक्षण सेवामा समस्या रहेको उल्लेख गर्दै उनले सामान्य स्वास्थ्य परीक्षणका लागि समेत बिरामी बाहिर जान बाध्य हुनुपर्ने अवस्था दुःखद भएको बताए। “अब साधारण परीक्षणका लागि पनि निजी अस्पताल धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ,” उनले भने, “आधुनिक ल्याब र रगत जाँचको पूर्ण व्यवस्था मिलाउने काम मेरो प्राथमिकतामा पर्छ।”

स्वास्थ्य सेवाकै सन्दर्भमा उनले आफ्नी आमाले सञ्चालन गरिरहेको संस्थामार्फत भुरिगङ्गाका प्रत्येक वडामा मासिक रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको जानकारी दिए। ती शिविरमार्फत प्रदान गरिने सेवा–सुविधा अन्य धेरै स्थानमा समेत सहज रूपमा उपलब्ध नहुने दाबी गर्दै उनले आगामी दिनमा यस्ता सेवामूलक कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाइने स्पष्ट पारे।

शिक्षा क्षेत्रको चर्चा गर्दै डा. कोइरालाले स्थानीयस्तरमै कलेज स्थापना गर्न पहल गर्ने घोषणा गरे। हाल उच्च शिक्षाका लागि विद्यार्थीहरू विराटनगर जान बाध्य रहेको उल्लेख गर्दै उनले आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यो ठूलो बोझ बनेको बताए। “अब हाम्रा छोराछोरीले पढाइका लागि घर छोड्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ,” उनले भने।

सभामा उपस्थित सुकुम्बासी समुदायलाई सम्बोधन गर्दै डा. कोइरालाले सुकुम्बासी समस्या देशव्यापी भए पनि स्थानीयस्तरमा निष्पक्ष र पारदर्शी समाधानका लागि आफू अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे। सम्बन्धित आयोगका केन्द्रीय सदस्यलाई क्षेत्रमै ल्याएर लालपुर्जा वितरण प्रक्रिया पारदर्शी रूपमा अगाडि बढाइने उनको भनाइ थियो।

विकास निर्माणका कामहरू निरन्तर रूपमा अघि बढिरहेको उल्लेख गर्दै उनले सडक, शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत क्षेत्रमा भएका प्रगतिलाई अझ तीव्र बनाइने बताए। साथै, सभामा महिलाहरूको उल्लेखनीय उपस्थितिलाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै महिला उद्यमशीलता प्रवर्द्धनका लागि तालिम तथा आवश्यक सहयोग उपलब्ध गराइने जानकारी पनि दिए।

प्रतिक्रिया