
नेप्से परिसूचकमा २१ अंकले सुधार, कारोबार चार अर्ब नाघ्यो
काठमाडौं- प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै सेयर बजारमा हरियाली छाएको छ। साताको तेस्रो कारोवार दिन मंगलबार नेपाली स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।
नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको हो। मंगलबार ३२८ वटा स्क्रिप्सको ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६१३ रुपैयाँमा खरिदबिक्री भएको छ।
कारोबारमा २१३ वटा स्टक्सको मूल्य बढ्दा ४२ वटाको घटेको र बाँकी ६ वटाको मूल्य स्थिर रहेको छ। यसदिन सलपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
विशेषतः रिलायन्स स्पिनिङ मिल्सको सेयर ९.३१ प्रतिशतले, हिमालयन पावर पार्टनर ९.१५ प्रतिशत, सागर डिस्टिलरी ८.९६ प्रतिशत र बन्दिपुर केवलकार एण्ड टुरिजम ८.३४ प्रतिशतले बढेको छ।
कारोबार रकमको आधारमा एसवाइ प्यानल शीर्ष स्थानमा रह्यो, जसको ३७ करोड ७२ लाख मूल्य बराबरको सेयर कारोबार भयो। आँखु खोला जलविद्युत कम्पनीले २४ करोड, राधी विद्युत कम्पनीले १६ करोड, नगदी ग्रुप पावर १५ करोड र रिडी पावर ११ करोडको सेयर कारोबार गरे।
सबै समूहको उपसूचक सकारात्मक देखिएको छ। होटल्स एण्ड टुरिजम समूहको उपसूचक सर्वाधिक दुई प्रतिशतले बढ्दा, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, मनु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक १ प्रतिशतले वृद्धि भएको छ।



कागजपत्र |
