अमेरिकामा दुई फिटसम्म हिमपात, १० हजार उडान रद्द


काठमाडौं – अमेरिकाको उत्तर–पूर्वी भूभागमा सोमबार एक शक्तिशाली ‘विन्टर स्टर्म’का कारण भारी हिमपात भएको छ । भारी हिमपातका कारण सार्वजनिक यातायात ठप्प भएको छ । हिमपात र आँधीका कारण लाखौँ मानिस घरमै थुनिएका छन् ।

सामान्यतया भीडभाड रहने सडकहरू सुनसान देखिएका छन् । विमानस्थलहरू खाली भएका छन् । विद्यालयहरू बन्द भएका छन् । हवाई यात्रामा यस आँधीको सबैभन्दा ठूलो असर परेको छ ।

फ्लाइट ट्रयाकिङ सेवाका अनुसार २१ देखि २४ फेब्रुअरीको बीचमा १० हजारभन्दा बढी उडान रद्द गरिएका छन् । सोमबार मात्रै पाँच हजारभन्दा बढी उडान रद्द भए भने मंगलबारका लागि १३ सयभन्दा बढी उडान पहिले नै रद्ध गरिसकिएको छ ।

जोन एफ. केनेडी इन्टरनेसनल एयरपोर्ट, लागार्डिया एयरपोर्ट, बोस्टन लोगन इन्टरनेसनल एयरपोर्ट र नेवार्क लिबर्टी इन्टरनेसनल एयरपोर्ट सबैभन्दा बढी प्रभावित भएका छन् । रेल र बस सेवा पनि धेरै राज्यमा पूर्णरुपमा प्रभावित भएका छन् ।

न्युयोर्क सिटीमा प्रशासनले मानिसहरूलाई अति आवश्यक कामबाहेक यात्रा नगर्न सल्लाह दिएको छ । न्युयोर्क, न्युजर्सी र रोड आइल्यान्डका केही भूभागहरूमा पनि यस्तै आदेश जारी गरिएको छ ।

न्युयोर्कका मेयर जोहरान ममदानीले भनेका छन्, “म हरेक न्युयोर्कवासीलाई घरभित्रै रहन अपिल गर्छु ।”

सेन्ट्रल पार्कमा सोमबार बिहानसम्म १५ इन्चभन्दा बढी हिउँ परेको छ । लङ आइल्यान्ड र न्युजर्सीका धेरै क्षेत्रमा दुई फिटको हाराहारीमा हिमपात भएको छ ।

फिलाडेल्फियामा करिब एक फिट र बोस्टनमा अबेर साँझसम्म हिउँ परेको छ । मौसमविद्हरूका अनुसार ३५ माइल प्रतिघण्टाभन्दा बढीको तीव्र हावा र ४०–६० माइल प्रतिघण्टासम्मको झोक्काका कारण यस आँधीलाई ‘ब्लिजार्ड’को श्रेणीमा राखिएको छ ।

नेन्टकेटजस्ता तटीय क्षेत्रमा ६० माइल प्रतिघण्टाभन्दा माथिको झोक्का रेकर्ड गरिएको छ । नेसनल वेदर सर्भिसले अन्तरराज्य ९५ कोरिडोरका धेरै हिस्सामा ‘भिजिबिलिटी’ निकै कम रहने बताइएको छ ।

आँधीका कारण पूर्वी तटमा ५.७ लाखभन्दा बढी घर र व्यावसायिक प्रतिष्ठानहरूको बिजुली काटिएको छ । म्यासाचुसेट्स र न्यु जर्सी सबैभन्दा बढी प्रभावित भएका छन् । डेलावेयर र रोड आइल्यान्डमा पनि आँधीको व्यापक असर परेको छ ।

राज्यहरूले ‘इमर्जेन्सी रेस्पोन्स’ टोलीलाई उच्च सतर्कतामा राखेका छन् । न्युयोर्ककी गभर्नर क्याथी होचुलले प्रभावित क्षेत्रमा सहयोगका लागि ‘नेशनल गार्ड’ तैनाथ गरेकी छन् ।

म्यासाचुसेट्समा आपतकाल घोषणा गर्नुपरेको छ । सरकारी कर्मचारीहरूलाई घरबाटै काम गर्न भनिएको छ । आँधी तीव्र भएपछि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय पनि दिनभरका लागि बन्द गरिएको छ ।

प्रतिक्रिया