रौतहटमा तनाव अन्त्यका लागि सबै पक्षको संयुक्त सार्वजनिक अपिल


रौतहट – दुई समुदायबीचको विवादपछि उत्पन्न तनाव अन्त्य गर्न रौतहटका सबै पक्षले संयुक्त रूपमा सार्वजनिक अपिल जारी गरेका छन्। सरोकारवाला तथा विभिन्न पक्षहरूको लगातार बैठकपछि आपसी सम्मान, एकता र सहिष्णुता कायम गर्दै जिल्लामा सौहार्द्रपूर्ण वातावरण बनाइराख्न अपिल गरिएको हो।

जारी सार्वजनिक अपिलमा आपसी समझदारी र सामाजिक–धार्मिक सहिष्णुता कायम गर्न सबै जिल्लावासीलाई आग्रह गरिएको छ। अपिलमा भनिएको छ, “हामी सबै मिलेर सौहार्द्रपूर्ण वातावरण कायम गर्दै आपसी सम्मान, सहिष्णुता, एकता र समझदारी कायम गर्न जिल्लाका सम्पूर्ण क्षेत्रमा सामाजिक तथा धार्मिक सहिष्णुता जोगाउन अपिल गर्दछौँ।”

द्वन्द्व र तनावले अन्ततः सबैलाई क्षति पुग्ने उल्लेख गर्दै समाजमा शान्ति कायम गर्नु सम्पूर्ण जिल्लावासीको साझा कर्तव्य भएको उनीहरूले बताएका छन्। जिल्लामा पुनः शान्ति बहाल गर्न तनावग्रस्त बनेको सबगढा क्षेत्रमा सोमबार बिहान साढे ७ बजे नागरिक समाजको अगुवाइमा सरोकारवाला सबैको सहभागितामा सद्भाव र्‍याली निकाल्ने सहमति पनि भएको छ।

यसअघि बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गरेको थियो। सहमतिअनुसार जिल्ला सुरक्षा समितिले औपचारिक तथा अनौपचारिक छलफलमार्फत समस्याको समाधान खोज्ने, सामाजिक सञ्जालमार्फत अनर्गल प्रचार–प्रसार गरी शान्तिपूर्ण वातावरणमा खलल पुर्‍याउने कार्य भएमा आवश्यक कारबाहीका लागि सुरक्षा निकायलाई सहयोग गर्ने निर्णय गरिएको छ।

त्यस्तै, पक्राउ परेका व्यक्तिहरूको हकमा सुरक्षा निकायको अनुसन्धानबाट दोषी देखिए कानुनी कारबाही अगाडि बढाउन तथा अनुसन्धानका क्रममा थप व्यक्तिहरूलाई पक्राउ गर्नुपर्ने अवस्था आएमा प्रहरी प्रशासनलाई सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया