सरकार बने सय दिनमै सहकारी बचत फिर्ता गर्छौं: रास्वपा


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गरे सहकारी संस्थामा समस्या परेका बचतकर्ताहरूलाई सय दिनभित्रै रकम फिर्ता गराउने प्रतिबद्धता जनाएको छ। पार्टीले आमनागरिकको पसिनाको कमाइ सुरक्षित गर्नु आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट पारेको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार सार्वजनिक गरिएको रास्वपाको वाचापत्रमा सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत रकम प्रत्यक्ष रूपमा उनीहरूको खातामा फिर्ता गरिने उल्लेख छ।

वाचापत्रअनुसार बचतकर्ताको कमाइ सुरक्षित गर्न राज्यको तर्फबाट ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरिनेछ। उक्त कोषमार्फत संकटग्रस्त सहकारी संस्थाका बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्तादेखि सुरु गरी क्रमशः भुक्तानीको व्यवस्था मिलाइने रास्वपाले जनाएको छ।

“आमनागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा रकम फिर्ता गर्नेछौं,” वाचापत्रमा उल्लेख छ, “यसका लागि राज्यको तर्फबाट एकीकृत बचत सुरक्षा कोष स्थापना गरिनेछ, जसले संकटग्रस्त संस्थाका बचतकर्तालाई प्राथमिकताका आधारमा भुक्तानी गर्नेछ।”

 

प्रतिक्रिया