गरिबी बेच्ने होइन, बुझ्ने नेता बन्न चाहन्छौं: बालेन शाह


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले कर्णालीका सपना बोकेर आफूहरू संसद्मा जाने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। कर्णालीको राजधानी सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीको गरिबी धेरै नेताले देखे पनि त्यसलाई बुझ्ने प्रयास कसैले नगरेको टिप्पणी गरे।

सम्बोधनका क्रममा बालेनले कर्णालीको ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक विशेषताको प्रशंसा गर्दै राजा महेन्द्रले रारा ताललाई ‘स्वर्गकी अप्सरा भएको ठाउँ’ भनेको स्मरण गराए। उनले कर्णाली केवल भूगोल नभई गहिरो सभ्यता र सम्भावनाले भरिएको क्षेत्र भएको बताए।

“देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, देशको सबैभन्दा ठूलो जिल्ला र गाउँपालिका रहेको ठाउँ, देशकै सबैभन्दा गहिरो ताल रहेको ठाउँ—त्यो गहिराइलाई आजसम्म कुनै सरकार, कुनै पार्टी र देशले बुझ्न सकेन,” उनले भने, “त्यो गहिराइ बुझ्न चाहने पार्टी रास्वपा हो।”

बालेनले कर्णालीको उत्पादन र सम्भावनाको उदाहरण दिँदै डोल्पाको यार्सागुम्बा विश्वभर पुग्न सक्ने भए पनि कर्णालीको स्याउ र मार्सी चामल देशकै अन्य भागमा सहज रूपमा नपुग्नु विडम्बना भएको बताए। रास्वपाले कर्णालीका उत्पादनलाई कम्तीमा पनि देशभर पुर्‍याउने पार्टी बन्न चाहेको उनले स्पष्ट पारे।

उनले सिंजा उपत्यका सभ्यता, नेपाली र खस भाषाको उद्गमस्थल, यहाँको आफ्नै भाषा, लिपि, चित्रकला, नाचगान र जात्रासहितको समृद्ध सभ्यतालाई जोगाउनु रास्वपाको प्राथमिकता हुने बताए। “यी सबै मिलेर एउटा सभ्यता बन्छ, र त्यो सभ्यता जोगाउने पार्टी रास्वपा हो,” उनले भने।

काठमाडौं महानगरपालिकामा नेवा सभ्यताको नाचगान, लिपि, बाजागाजा तथा मूर्त–अमूर्त सम्पदाको संरक्षण गरिएको उल्लेख गर्दै बालेनले कर्णालीको सभ्यतालाई पनि त्यही ढंगले जोगाउने प्रतिबद्धता जनाए।

कर्णालीमा अझै पनि भोकमरी, चार वर्षमुनिका बालबालिका तथा महिलाको बढ्दो मृत्युदर रहेको उल्लेख गर्दै उनले गरिबी र पीडालाई बेच्ने नेता धेरै आए पनि त्यसलाई गहिराइमा बुझ्ने नेता अहिलेसम्म नआएको दाबी गरे। “त्यो गरिबी बुझ्ने नेता बन्न चाहन्छौं,” उनले भने।

अन्त्यमा बालेनले कर्णालीको पर्यटन, कृषि, आयआर्जन र समग्र सम्भावना वृद्धि गर्ने लक्ष्यसहित कर्णालीकै भूमिबाट वाचा पत्र घोषणा गरिएको बताए। “अब कर्णालीका सपना हाम्रा सपना हुनेछन्। ती सपना बोकेर संसद्मा जान पाऔं,” भन्दै उनले जनताको आशिर्वाद मागे।

प्रतिक्रिया