
बागमती उपसभापति हुमागाईंले छाडे रास्वपा
काठमाडौं – आसन्न निर्वाचनको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टीमा भित्र असन्तुष्टि चुलिँदो छ। पार्टी परित्याग गर्नेको लर्को लागेको छ।
हिजोमात्रै २ जना प्रभावशाली नेत्रीले पार्टी छाड्दा आज बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरेका छन्।
हुमागाईँ ७९ मा काभ्रे २ बाट प्रतिनिधिसभाको निर्वाचनमा उठेका थिए। उनले त्यतिबेलै १० हजारबढी भोट पाएका थिए।
राजीनामा पत्रमा रास्वपा छाड्नुका ७ कारण खुलाएका छन्। उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार तथा सदस्यता तथा आर्थिक व्यवस्थापनमा अपारदर्शीता देखिएको उनको आरोप छ।
उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै उनले लेखेका छन्–वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ।
विशेष रूपमा, दुई–चार दिन अगाडिसम्म मोबाइल पसलमा काम गरिरहेका, गीत गाइरहेका, सामाजिक अभियन्ता भनेर हिँडिरहेका, चटकदारहरूलाई स्वार्थको आधारमा उम्मेदवार बनाइएको छ।
पार्टीले सुरुमा उनानसीको निर्वाचनमा जान्नेलाई छान्ने भनेको थियो। तर व्यवहारमा तिनै जान्ने, सिमित व्यक्तिहरू, माथिका व्यक्तिहरूलाई चाकडी गर्ने, खुसी पार्ने, वरिपरि घुम्ने (नेपालीमा ‘गणेश प्रवृत्ति’) पात्रहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फ प्राथमिकता दिइएको छ। पार्टीले चयन गरेको चरम चलखेलले भोलिको नेपालको संसद चटकदारहरूको थलो, विकृत र अवसरवादी संरचनामा परिणत हुने स्पष्ट संकेत देखाएको उनको आरोप छ ।
हिजो मात्रै रास्वपा मधेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेम कुमारी उर्मिला भुर्तेलले पनि पार्टी छाडेका थिए।



कागजपत्र |
