पूर्वराजा ज्ञानेन्द्र भन्छन्, ‘राष्ट्रिय समस्याको समाधान नभएसम्म निर्वाचनमा जानु उपयुक्त हुँदैन’


काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा बुधबार आठ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गरेका छन्।

सन्देशमा उनले वर्तमान निर्वाचन प्रक्रियालाई अस्वीकार गर्दै राष्ट्रिय समस्याको समाधान र सर्वपक्षीय समझदारीको आवश्यकता औँल्याएका छन्।

पूर्वराजाले आफ्नो सन्देशमा प्रजातन्त्र स्थापनाका लागि योगदान दिने राजा त्रिभुवन र सहिदहरूको सम्झना गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गरेका छन्।

केही महिनाको झापा बसाइपछि काठमाडौं फर्किँदा गत फागुन २१ गते स्वागत गर्ने सर्वसाधारण, आदिवासी र नागरिकप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्। उनलाई स्वागत गर्ने कार्यक्रमको संयोजन गरेका दुर्गा प्रसाईं अहिले सरकारको हिरासतमा छन् ।

उनले देश अहिले असामान्य र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै द्वन्द्व रोक्न र सद्भाव बढाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्। ‘देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस जनताले गरेका छन्,’ पूर्वराजाले भनेका छन्।

पूर्वराजाले प्रजातन्त्रमा संवैधानिक प्रक्रिया र आवधिक निर्वाचन आवश्यक भए पनि वर्तमान अवस्थामा राष्ट्रिय समस्याको समाधान नजिक नभएसम्म निर्वाचनमा जानु उपयुक्त नहुने बताए।

प्रतिक्रिया