
जिम्बाबे सुपर- ८ मा प्रवेश, अस्ट्रेलिया बाहिरियाे
मुम्बई – जिम्बाबे आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ चरणमा प्रवेश गरेको छ। समूह ‘बी’ अन्तर्गत मंगलबारका लागि तय भएको जिम्बाबे र आयरल्यान्ड बीचको खेल वर्षाका कारण रद्द भएपछि जिम्बाबेले सुपर ८ मा स्थान बनाउँदा पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ।
श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा तय भएको उक्त खेलमा निरन्तर वर्षाका कारण टससमेत हुन सकेन। वर्षा नरोकिएपछि खेल सम्भव नभएपछि दुवै टोलीले एक–एक अंक बाँडे।
यससँगै जिम्बाबेले तीन खेलमा पाँच अंक जोड्दै सुपर ८ मा स्थान सुरक्षित गरेको हो। अस्ट्रेलियाको तीन खेलमा दुई अंक मात्र रहेको छ र अब उसले अधिकतम चार अंक मात्र जोड्न सक्ने भएकाले प्रतियोगिताबाट बाहिरिएको छ।
आयरल्यान्ड पनि चार खेलमा तीन अंक मात्र जोडेर समूह चरणबाट बाहिरिएको छ। ओमान यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो।
यससँगै सुपर ८ चरणमा पुग्ने सात टोलीको टुंगो लागेको छ। अब समूह ‘ए’ बाट पाकिस्तान, अमेरिका र नेदरल्यान्ड्समध्ये एक टोली सुपर ८ मा पुग्नेछ।
समूह ‘ए’ बाट भारत यसअघि नै सुपर ८ मा पुगिसकेको छ भने समूह ‘बी’ बाट श्रीलंका, समूह ‘सी’ बाट इंग्ल्यान्ड र वेस्ट इन्डिज, तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर ८ मा पुगिसकेका छन्।
नेपाल भने समूह चरणबाट बाहिरिसकेको छ र आज प्रतियोगिताको अन्तिम खेल खेल्दै छ।



कागजपत्र |
