
सुर्खेतमा ब्राउन सुगरसहित दुई युवती पक्राउ
सुर्खेत – सुर्खेतमा ८ ग्राम ०६ मिलिग्राम ब्राउन सुगरसहित दुई जना युवती पक्राउ परेका छन्।
फागुन ४ गते राति करिब ११:०० बजे, लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखाको संयुक्त टोलीले वीरेन्द्रनगर नगरपालिका–११ मा निगरानी तथा खोजतलास सञ्चालन गरेको थियो।
तत्कालै शंकास्पद अवस्थामा वीरेन्द्रनगर नगरपालिका–४ की वर्ष अन्दाजी २० की माया नेपाली र सोही स्थानकी वर्ष अन्दाजी २८ की संगिता वि.क.लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको शरीर खानतलासी गर्दा ८ ग्राम ०६ मिलिग्राम शुद्ध ब्राउन सुगर बरामद भएको थियो।
बरामद लागूऔषधसहित दुवैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरिएको छ। अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
