
महेन्द्रराज राजमार्गको गोरुसिङे–बनगाई खण्डमा शङ्कास्पद वस्तु फेला
कपिलवस्तु- महेन्द्रराज राजमार्ग अन्तर्गत पर्ने गोरुसिङे–बनगाई सडकखण्डको जङ्गल क्षेत्रमा शङ्कास्पद वस्तु फेला परेको छ। उक्त वस्तु ड्राइ नाला नजिक सडकछेउमा बेवारिसे अवस्थामा देखिएपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोरुसिङेबाट खटिएको प्रहरी टोलीले घटनास्थललाई तत्काल सुरक्षा घेरामा राखेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार शङ्कास्पद वस्तु फेला परेपछि आवश्यक सबै सुरक्षा सतर्कता अपनाइएको छ।
सिंहले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको जानकारी दिँदै टोलीले सुरक्षित रूपमा डिस्पोजलका लागि तयारी गरिरहेको बताए। उनका अनुसार जोखिमलाई मध्यनजर गर्दै केही समयका लागि सडक आसपासको क्षेत्र प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
घटनाको प्रकृति र शङ्कास्पद वस्तुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
