काठमाडौं–तराई मधेस द्रुतमार्गमा टुचन मेसिन खस्दा एक मजदुरको मृत्यु, एक घाइते


काठमाडौं- काठमाडौं–तराई मधेस द्रुतमार्गको निर्माण कार्यको क्रममा टुचन मेसिन खस्दा एक मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ का २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटना मकवानपुरको भीमफेदी गाउँपालिका–८, महादेवटार छोक्रेडाँडामा फास्ट ट्रयाकको १ नम्बर पुलको खाल्डो खनेर टुचन मेसिनमा काम गर्ने क्रममा भएको थियो। मेसिन खाल्डोबाट बाहिर आउँदै गर्दा खसेको बताइएको छ।

सोही दुर्घटनामा खाल्डो भित्र काम गरिरहेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ का ३७ वर्षीय जुल्फे तामाङ घाइते भएका छन्। उनी उपचारको लागि काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिए।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र कारण पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया