
गगन थापाको अपिल- कांग्रेसप्रतिको विश्वासलाई अब भोटमा बदल्नुहोस्
सुनसरी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसप्रति जनताले गरेको विश्वासलाई अब मतमा बदल्न आग्रह गरेका छन्। मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत झुम्कामा आयोजित कार्यक्रममा नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गरेका हुन्।
सभापति थापाले कांग्रेस र आफूलाई जनताले देखाएको विश्वास र मायाको स्मरण गर्दै त्यसलाई राजीव कोइरालालाई विजयी गराएर प्रमाणित गर्न अनुरोध गरे।
उनले भने, ‘तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ, माया गर्नुभएको छ। अब यही क्षेत्रबाट राजीव कोइराला दाइलाई भोट हालेर जिताइदिनुहोस्। बाँकी कुरा म पूरा गर्नेछु।’
थापाले कांग्रेसले जनतासामु बोलेका कुरा पूरा गरेको छ कि छैन भन्ने विषय नेताकार्यकर्ताले घरघरमा पुगेर जनतालाई बताइदिनुपर्ने बताए। ‘कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला,’ उनले भने, ‘म तपाईंहरूको विश्वासमा परेको छु। हामीले भनेका कुरा पूरा गरेका छौँ। कांग्रेस बदलिएर आएको छ।’
निर्वाचन आचारसंहिताका कारण धेरै कुरा खुलस्त रूपमा भन्न नमिल्ने अवस्था रहेको उल्लेख गर्दै सभापति थापाले बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाका लागि ठोस आधारसहित काम गर्नुपर्ने धारणा व्यक्त गरे।



कागजपत्र |
