
राष्ट्रियसभाबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित
काठमाडौं- राष्ट्रिय सभाले सरकारलाई सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न निर्देशन दिने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ।
सभाको सोमबार बसेको बैठकमा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको घोषणा गरिएको हो। सभाका अध्यक्ष नारायण दाहालले निर्णय प्रस्तुत गर्दै विधेयक फिर्ता भएको औपचारिक रूपमा घोषणा गरे।
विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायक व्यवस्थापन समितिको प्रतिवेदन’ पनि सभामा पेश गरे।
यो विधेयक राष्ट्रिय सभामा २०८२ भदौ १३ गते बसेको बैठकमार्फत उत्पत्ति गरी दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाइएको थियो। समितिमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए।
समितिका सभापति दाहालका अनुसार विधेयकको तयारी र छलफलका क्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका मन्त्री, सचिव र सरोकारवालासँग विभिन्न चरणमा अनौपचारिक छलफल भएको थियो। यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघ २० गते विधेयक फिर्ता मागेको निर्णय गरेको थियो।



कागजपत्र |
