
कांग्रेस झापा–५ भन्छः गठबन्धनबारे कुनै छलफल छैन, हल्लामा नलाग्न आग्रह
काठमाडौं- नेपाली कांग्रेस झापा–५ क्षेत्रीय कार्यसमितिले कुनै पनि दलसँग गठबन्धन गर्ने विषयमा पार्टीभित्र कुनै किसिमको छलफल नभएको स्पष्ट गर्दै भ्रामक र कपोलकल्पित हल्लामा नलाग्न आग्रह गरेको छ ।
क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले बुधबार जारी गरेको विज्ञप्तिमा निर्वाचन नजिकिँदै गर्दा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत आधारहीन र कपोलकल्पित समाचार फैलाएर कार्यकर्ता तथा मतदातामा भ्रम सिर्जना गर्न खोजेको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले निर्वाचनअघि कुनै पनि दलसँग गठबन्धन नहुने कुरा स्पष्ट पारिसकेको स्मरण गराउँदै कांग्रेस आफ्नो राजनीतिक प्रतिबद्धतामा दृढ रहेको जनाइएको छ । साथै पार्टीका शुभचिन्तक, कार्यकर्ता तथा आम मतदातालाई कुनै पनि किसिमका भ्रम, अफबाह र गलत प्रचारको पछि नलाग्न आग्रह गरिएको छ ।
आगामी २०८२ साल फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार मन्धरा चिमोरिया पौड्याललाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण कार्यकर्तालाई निर्वाचन केन्द्रित कार्यक्रमहरूमा एकजुट भएर लाग्न आह्वान गरिएको छ ।
विज्ञप्तिमा आम मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रूख’ मा मतदान गर्न तथा सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक हल्लाबाट सचेत रहन आग्रहसमेत गरिएको छ ।




कागजपत्र |
