
बौद्धमा एक घरबाट एक करोड बराबरको गरगहना चोरी
काठमाडौं- काठमाडौंको बौद्धमा एउटा घरबाट कम्तीमा एक करोड रुपैयाँ बराबरको गरगहना चोरी भएको उजुरी प्रहरीमा परेको छ। चोरीको घटना मंगलबार दिउँसो लुगा सुकाउन छतमा गएका बेला भएको जानकारी प्रहरीलाई प्राप्त भएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले भने, ‘लुगा सुकाउन गएका बेला चोरी भएको सूचना आएपछि प्रहरी वृत्त बौद्धसहितको टोली खटाइएको छ। प्राविधिक जाँच गरी अनुसन्धान अघि बढाइरहेका छौं।’
घटनाको प्रकृति हेरेर उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली समेत घटनास्थलमा खटिएको छ। कार्यालयका एक अधिकृतका अनुसार, ‘सीसीटीभी फुटेज लगायत अन्य विवरणको आधारमा अनुसन्धान भइरहेको छ। चाँडै निष्कर्षमा पुग्ने विश्वास छ।’
प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि अनुसन्धानलाई तीव्र बनाएको जनाइएको छ।



कागजपत्र |
