
मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगोका पखेटा ठोक्किए
काठमाडौं- भारतको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक मानिने मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्। मंगलबार साँझ करिब साढे ७ बजे भएको उक्त घटनामा दुवै विमानको पखेटाको टुप्पोमा क्षति पुगेको छ। यद्यपि, विमानमा सवार सबै यात्रु सकुशल रहेको जनाइएको छ।
घटनापछि भारतको विमान नियामक निकाय डायरेक्टोरेट जनरल अफ सिभिल एभिएसन (डीजीसीए) ले विज्ञप्ति जारी गर्दै घटनाको विवरण सार्वजनिक गरेको छ। डीजीसीएका अनुसार ३ फेब्रुअरी २०२६ मा एयर इन्डियाको फ्लाइट एआई २७३२ उडानका लागि मुम्बई विमानस्थलको एम–४ पार्किङ बेमा पार्क गरिएको अवस्थामा थियो।
उक्त विमान रनवेतर्फ जान तयारीमा रहेका बेला इन्डिगो एयरको ए–३२० विमान अवतरणपछि पार्किङतर्फ आइरहेका क्रममा एयर इन्डियाको विमानसँग ठोक्किएको हो। ट्याक्सी गर्ने क्रममा दुवै विमानका पखेटाका टुप्पो एकआपसमा ठोक्किँदा क्षति पुगेको डीजीसीएले जनाएको छ।
घटनापछि दुवै विमानलाई तत्काल उडानमा नपठाई प्राविधिक जाँचका लागि रोकिएको थियो। डीजीसीएको मुम्बई कार्यालयका अधिकारीहरू घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरिसकेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार एयर इन्डियाका प्रवक्ताले फ्लाइट एआई २७३२ मुम्बईबाट तमिलनाडुको कोयम्बटूर जाँदै गरेको उडान भएको जानकारी दिएका छन्। उक्त घटना भएपछि उडान स्थगित गरिएको र सावधानी अपनाउँदै विमानलाई थप प्राविधिक परीक्षणका लागि रोकिएको उनले बताए।
घटनापछि विमानमा सवार सबै यात्रुलाई सुरक्षित रूपमा विमानबाट ओरालिएको थियो। प्राविधिक जाँच पूरा नहुँदासम्म विमान उडानमा नपठाइने बताइएको छ।



कागजपत्र |
