अनलाइनमार्फत फसाएर भारत पुर्‍याइ बन्धक बनाउने गिरोहका दुईजना पक्राउ


सिरहा-  भारतको बिहारमा आकर्षक जागिरको प्रलोभन देखाएर एक नेपाली युवकलाई बन्धक बनाइ लाखौँ रुपैयाँ असुल्ने गिरोहका दुई सदस्यलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–७ भेडिया निवासी २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ पररिया चोक निवासी २२ वर्षीय प्रशान्त चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आरोपीहरूले कल्याणपुर–७ का २८ वर्षीय रिशकेश कुमार मरिकलाई अनलाइनमार्फत सम्पर्क गरी भारतको गयास्थित एक कन्स्ट्रक्सन कम्पनीमा राम्रो जागिर मिलाइदिने प्रलोभन देखाएका थिए। त्यसपछि गत पुस २० गते उनलाई भारतको बोधगया पुर्‍याई एउटा होस्टलमा बन्धक बनाइएको थियो।

होस्टलमा पुर्‍याएपछि मरिकको मोबाइल फोन र शैक्षिक प्रमाणपत्र खोसेर कोठाभित्र थुन्ने, कुटपिट गर्ने तथा निरन्तर मानसिक यातना दिने गरिएको प्रहरीले जनाएको छ। ज्यान मार्ने धम्की दिँदै आरोपीहरूले मरिकको परिवारसँग क्युआर कोड र बैंक खातामार्फत २ लाख १७ हजार २०० रुपैयाँ असुलेका थिए। त्यस्तै, मरिकसँग रहेको ३० हजार भारतीय रुपैयाँ नगद समेत लुटिएको थियो।

बन्धक बनाइएको स्थानमा ‘तालिम’को नाममा आपराधिक क्रियाकलाप सिकाउन थालेपछि मरिकले ज्यान जोगाउँदै मौका पाएर नेपाल भाग्न सफल भएका थिए। नेपाल फर्किएपछि उनले माघ १५ गते जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएका थिए।

जाहेरीपछि प्रहरीले खोजतलास तीव्र पारेको र सोही क्रममा माघ १६ गते सुरज मुखियालाई कल्याणपुरबाट तथा माघ १७ गते प्रशान्त चौधरीलाई लहानबाट पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए।

पक्राउ परेका दुवै जनामाथि शरीर बन्धक सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया