
काठमाडौंको डोजर विवादबारे झापामा उठ्यो सवाल, बालेनले खोले कारण
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले झापाका सुकुमवासीसँग प्रत्यक्ष भेटघाट गरेका छन् । मंगलबार बिहान झापाको कमल गाउँपालिकास्थित सुकुमवासी बस्तीमा पुगेर उनले त्यहाँका बासिन्दाका गुनासा सुनेका हुन् ।
भेटघाटका क्रममा स्थानीय सुकुमवासीले काठमाडौंमा सुकुमवासी बस्तीमा डोजर चलाइएको विषय उठाउँदै त्यसले आफूहरूमा डर पैदा गरेको बताएका थिए । ‘बालेन आएपछि झापामै बसिरहेका सुकुमवासीलाई पनि उठाइदिन्छन् भन्ने कुरा सुनिएको छ,’ भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका थिए ।
यसको जवाफमा बालेनले काठमाडौंमा डोजर चलाउनुको उद्देश्य सुकुमवासीलाई विस्थापित गर्नु नभई ज्यान जोगाउनु भएको दाबी गरे । ‘काठमाडौंमा खोला छेउको सार्वजनिक जग्गा हो । उहाँहरू बस्नुभएको ठाउँ बाढी आउँदा डुबानमा पर्छ । असारमा बाढी आउँदा त्यहाँ बसिरहन सकिँदैन,’ बालेनले भने, ‘त्यसैले उहाँहरूलाई सुरक्षित ठाउँमा सार्नुपर्छ भनेर गरिएको हो । तर त्यसलाई गलत न्यारेटिभ बनाएर डोजर देखाइयो । खास उद्देश्य त ज्यान जोगाउनु हो ।’
बालेनले झापाका सुकुमवासी भने वास्तविक भएको स्पष्ट पारे । ‘यहाँको त रियल हो नि । ४०–५० वर्षदेखि बसेको,’ उनले भने ।
झापाका सुकुमवासीको हकमा लालपूर्जा पाउने अधिकार सुनिश्चित हुनुपर्ने बालेनको धारणा छ । पार्टी निकटका र पहुँचवालाले मात्रै दोहोर्याएर लालपूर्जा पाउने प्रणाली नै समस्याग्रस्त भएको उल्लेख गर्दै उनले त्यसलाई सुधार्नुपर्ने बताए । ‘कार्यकर्ता भर्ती गर्ने, आफ्नालाई मात्रै लाभ दिने सिस्टम अब चल्दैन,’ बालेनले भने, ‘वास्तविक सुकुमवासीले नै लालपूर्जा पाउनुपर्छ ।’



कागजपत्र |
