
नेपालमा निपाह भाइरसको जोखिम न्यून, तर सतर्क रहन मन्त्रालयको आग्रह
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा निपाह भाइरसको जोखिम हाल न्यून रहेको जनाउँदै सबैलाई सतर्क रहन आग्रह गरेको छ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालमा हालसम्म निपाह भाइरसको कुनै पनि घटना पुष्टि नभएको स्पष्ट पारेको छ। साथै, सम्भावित जोखिम न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरू पूर्ण तयारी अवस्थामा रहेको पनि जनाएको छ।
विज्ञप्तिमा आम नागरिकलाई अनावश्यक रूपमा आतंकित नहुन आग्रह गर्दै आफू तथा परिवारको सुरक्षाका लागि जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य रूपमा पालना गर्न अनुरोध गरिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्यांकन गरे पनि छिमेकी मुलुकहरूमा देखिएका केही घटनालाई मध्यनजर गर्दै नेपालले पूर्वतयारीका कदमहरू अघि बढाएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत देशभरिका स्वास्थ्य संस्था तथा निकायहरूलाई सतर्क गराइसकिएको छ भने निपाह भाइरस परीक्षणका लागि अन्तरिम परीक्षण एल्गोरिदम समेत तयार गरिएको छ।




कागजपत्र |
