
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता: मालपोतका दुई कर्मचारीसहित तीन जनाविरुद्ध मुद्दा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीमा सरकारी सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गराएको अभियोगमा मालपोत कार्यालय जलेश्वरका दुई कर्मचारीसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार महोत्तरीको साबिक ईटहर्वाकट्टी गाविस–३ मा रहेको ५ कट्ठा १२ धुर क्षेत्रफलको सरकारी जग्गा मालपोत कार्यालय जलेश्वरका कर्मचारीहरूको मिलेमतोमा राजीवकुमार ठाकुरको नाममा दर्ता गरिएको पाइएको हो।
अनुसन्धानबाट कुनै वैधानिक आधार वा प्रमाणबिना स्रेस्ता सच्याएर सरकारी जग्गालाई व्यक्तिको नाममा कायम गरिएको खुलेको आयोगले जनाएको छ।
मुद्दा दायर गरिएका कर्मचारीहरूमा मालपोत कार्यालय जलेश्वरका नायब सुब्बा परमानन्द साह र कम्प्युटर अपरेटर रवीन्द्र कुमार सिंह रहेका छन्। उनीहरूले आपसी मिलेमतोमा २०८० साउन ८ गते कम्प्युटर प्रणालीमार्फत सरकारी जग्गाको विवरण अद्यावधिक गरी राजीवको नाममा जग्गाधनी पुर्जा तयार गरेको अख्तियारको दाबी छ।
आयोगले परमानन्द साह र रवीन्द्र कुमार सिंहसँग जनही १७ लाख २५ हजार रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८, ९ र ११ बमोजिम कैद तथा जरिवानाको सजाय माग गरेको छ।
त्यसैगरी, गैरकानूनी रूपमा सरकारी जग्गा आफ्नो नाममा दर्ता गराउने राजीवकुमार ठाकुरलाई पनि १७ लाख २५ हजार रुपैयाँ बिगो कायम गरी मुख्य अभियुक्त सरहकै सजाय मागदाबी गरिएको छ। रजिष्ट्रेशन प्रयोजनका लागि तोकिएको न्यूनतम मूल्याङ्कनका आधारमा बिगो निर्धारण गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



कागजपत्र |
