
प्रहरी खरानीबाट उठेर नागरिक सेवामा छ : आईजीपी कार्की
काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अनेकौँ उतार–चढाव, दबाब र आलोचनाबीच नेपाल प्रहरी संगठन “धुलो टक्टक्याएर खरानीबाट उठ्दै” पुनः नागरिकको सेवामा दृढताका साथ समर्पित भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८३औँ समूह दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले सात दशक लामो इतिहास बोकेको प्रहरी संगठनले जलन, दलन र कठिन परिस्थितिहरूका बाबजुद हिम्मत नहारेर अझ सबल बन्दै नागरिकको सेवामा निरन्तर अग्रपंक्तिमा उभिँदै आएको उल्लेख गरे ।
उनले विगतमा घटेका विभिन्न घटनाक्रमपछि पनि प्रहरी संगठनले आत्मसमीक्षा गर्दै आफूलाई सुधारको बाटोमा अघि बढाएको र नागरिकप्रतिको जिम्मेवारी अटल रूपमा निर्वाह गर्दै आएको बताए ।
“नागरिकका अनगिन्ती समस्या र असिमित अपेक्षाहरूको सामना, समाधान र सहजीकरण गर्दै प्रहरीले सधैँ पहिलो पंक्तिमा उभिएर सरकारको उपस्थिति जनाउँदै आएको छ,” आईजीपी कार्कीले भने ।
समय, युग र परिवेशअनुसार प्रहरीलाई राज्यको ‘फर्स्ट रेस्पोन्डर’ तथा कानुन कार्यान्वयन गर्ने प्रमुख निकायका रूपमा प्रभावकारी बनाउन कार्यगत स्वायत्तता, प्रविधिमैत्री (वैज्ञानिक) संरचना र साधन–स्रोतमा युग सुहाउँदो सरकारी लगानी आवश्यक रहेको उनले जोड दिए ।
वर्तमान अवस्थामा प्रहरीको जिम्मेवारी, चुनौती, अवसर र दायित्व थपिँदै गएको स्मरण गराउँदै आईजीपी कार्कीले नवदीक्षित प्रहरी निरीक्षकहरूलाई अझ लगनशील, अनुशासित र जिम्मेवार भएर कार्यसम्पादन गर्न निर्देशन दिए ।
उनले दीक्षान्त समारोहबाट दीक्षित प्रहरी निरीक्षकहरूलाई तत्कालै आगामी निर्वाचनमा खटाइने पनि जानकारी दिए । समारोहमा ९ जना महिला र ८३ जना पुरुष गरी कुल ९२ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् ।



कागजपत्र |
