
माधव नेपाल जोडिएको ‘पतञ्जलि’ प्रकरणमा साक्षी झिकाउने आदेश
काठमाडौं- पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले सरकारी साक्षीहरूको बयान सुन्न आदेश दिएको छ।
आइतबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले साक्षी उपस्थित गराउने आदेश जारी गरेको हो। यस कदमसँगै बहुचर्चित मुद्दाको सुनुवाइ प्रक्रिया थप अघि बढ्ने अनुमान गरिएको छ।
यस मुद्दामा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसहित ९३ जना प्रतिवादी रहेका छन्। अदालतले प्रमाणिकरणका लागि सरकारी साक्षीहरूलाई उपस्थित गराउन निर्देशन दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगको दाबीअनुसार, तत्कालीन प्रधानमन्त्री नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गते काभ्रेको साँगास्थित जग्गा पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढी बेच्ने स्वीकृति दिएको थियो।
अख्तियारका अनुसार उक्त निर्णयमार्फत ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको थियो। यस अभियोगमा पूर्वप्रधानमन्त्री नेपाललाई १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजायको माग गरिएको छ।
यसअघि असार ११ गते भएको थुनछेक बहसपछि विशेष अदालतले पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।



कागजपत्र |
