
सुरक्षा थ्रेट बढेको भन्दै सुदन गुरुङले मागे पीएसओ
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुदन गुरुङले आफूलाई सुरक्षा जोखिम रहेको भन्दै सुरक्षाकर्मीको माग गरेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुरुङ गोरखा निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहेका छन् । निर्वाचनको घरदैलो अभियानमा सक्रिय रहँदै आएका गुरुङलाई लक्षित गर्दै सुरक्षा थ्रेट बढेको भन्दै रास्वपाको जिल्ला समितिले जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्र पठाएको हो ।
बिहीबार पठाइएको उक्त पत्रमा व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)सहित आवश्यक सुरक्षा व्यवस्था उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।
रास्वपा गोरखा जिल्ला समिति सचिव मिलन रानाद्वारा हस्ताक्षरित पत्रमा ‘विभिन्न गोप्य सूचनाअनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट सुदन गुरुङमाथि व्यक्तिगत रूपमा सुरक्षा जोखिम बढेको’ उल्लेख गरिएको छ ।
निर्वाचनको संवेदनशील समयमा उम्मेदवारको ज्यान र गतिविधिमा खतरा देखिएकाले तत्काल आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन जिल्ला प्रशासनसँग आग्रह गरिएको पार्टीले जनाएको छ ।




कागजपत्र |
