काभ्रेमा स्कुल भ्यान दुर्घटना, चालक गम्भीर घाइते


काभ्रे-  काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका–९ बितौरी पोखरीस्थित हिगुवापाटी–चन्देनी सडकखण्डमा बुधवार स्कुल भ्यान दुर्घटना हुँदा महिला चालक गम्भीर घाइते भएकी छन्।

नवप्रतिभा इङ्गलिस बोर्डिङ स्कुलको पाँच जना विद्यार्थी बोकेको बा १ ज ८६७२ नम्बरको भ्यान अचानक ब्रेक फेल भई सडकबाट चिप्लिँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनामा भ्यान चालक २४ वर्षीया दीपिका ढकाल भ्यानभित्र च्यापिएकी थिइन्।

दुर्घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण र नेपाल प्रहरीको संयुक्त टोली विपद् उद्धार सामग्रीसहित घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक भरत न्यौपानेको नेतृत्वमा खटिएको टोलीले भ्यानको सिट काटेर कम्मर मुनिको भाग च्यापिएको अवस्थामा रहेकी चालक ढकालको उद्धार गरेको हो।

उद्धारपछि उनलाई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ। उद्धारका क्रममा उनका कम्मर मुनिको भाग नचल्ने र बोल्न नसक्ने अवस्था रहेको बताइएको छ।

दुर्घटनामा भ्यानमा सवार पाँचै विद्यार्थी भने सकुशल रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया