बारामा आमाछोराको हत्या : मृतककी बुहारीसहित दुईजना पक्राउ


सिमरा- बाराको परवानीपुरमा धारिलो हतियार प्रहार गरी आमा र छोराको हत्या गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा धर्मेन्द्र महतो रहेका छन्।

घटनाको अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए। पक्राउ परेका महतोबारे थप विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले घटनामा मारिएकी सुमित्रा देवीकी २८ वर्षीया बुहारी मनिता देवीलाई पनि नियन्त्रणमा लिएको थियो।

परवानीपुर गाउँपालिका–१ रहरियाडीमा बुधबार बिहान करिब २ बजेतिर चक्कु प्रहार गरी ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलको हत्या गरिएको थियो।

घटनामा सुमित्राका ५२ वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिनाकुमारी घाइते भएका छन्। उनीहरूको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया