संसद पुनःस्थापनाको माग गर्दै माइतीघरमा युवाहरूको प्रदर्शन


काठमाडौं- प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै युवाहरूको एक समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

असंवैधानिक रूपमा विघटन गरिएको संसदलाई वैधानिक प्रक्रियामार्फत पुनःस्थापना गर्नुपर्ने मागसहित ‘नागरिक युवा समाज’मा आबद्ध युवाहरूले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारी युवाहरूले सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै संविधानको रक्षा हुने गरी अदालतबाट आदेश आउने विश्वास व्यक्त गरेका छन् ।

उनीहरूले अदालतमा दर्ता भएका मुद्दाको शीघ्र टुंगो लाग्नुपर्ने र विधिसम्मत ढंगले संसद पुनःस्थापना हुनुपर्ने आफ्नो मुख्य माग रहेको बताएका छन् । संसद पुनःस्थापनाबिनै देश विधिको शासनमा चल्न नसक्ने उनीहरूको भनाइ छ ।

प्रदर्शनका क्रममा युवाहरूले ‘संविधान बचाउ’, ‘संसद फर्काउ’, ‘लुटिएको संसद फिर्ता गर’, ‘विघटित संसद पुनःस्थापना गर’ जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया