ईपीएस उत्तीर्ण युवाहरूको माइतीघरमा प्रदर्शन


काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरे पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

कृषि तथा पानीजहाज (शिपबिल्डिङ) क्षेत्रका लागि भाषा परीक्षा पास गरेर रोस्टरमा नाम सूचीकृत भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि रोजगारीका लागि छनोट हुन नसकेको गुनासो गर्दै उनीहरूले मंगलबार (माघ १३) माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

हालको व्यवस्थाअनुसार ईपीएस परीक्षा उत्तीर्ण गरी रोस्टरमा समावेश भएका युवाहरू दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे रोस्टरबाट स्वतः हट्ने प्रावधान छ । यही व्यवस्थाले आफूहरूको भविष्य अन्योलमा परेको भन्दै प्रदर्शनकारी युवाले रोस्टर अवधि दुई वर्ष थप गर्न माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ‘ईपीएसको लुटधन्दा बन्द गर’, ‘कृषि तथा पानीजहाज क्षेत्रको रोस्टर अवधि थप गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया