हर्क साम्पाङविरुद्ध पनि निर्वाचन आयोगमा उजुरी


काठमाडौं–  सुनसरी–१ का उम्मेदवार तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। धरान नगर बाल सञ्जालले उम्मेदवारले चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो।

उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने व्यवस्था रहेको उल्लेख गरिएको छ। तर साम्पाङले उक्त प्रावधानको उल्लङ्घन गरेको दाबी उजुरीमा गरिएको छ।

बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराएर छलफल गर्न र निर्वाचन आचारसंहिता उल्लङ्घन भए कारबाही गर्न माग गरेको छ।

निर्वाचन अधिकृत दिव्यराज घिमिरेले प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति गठन गरिएको र उक्त समितिले उजुरीको अध्ययन गरी आवश्यक कारबाही अघि बढाउने बताएका छन्।

बालबालिकाको प्रयोग प्रमाणित भएमा उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी दर्ता खारेज हुने प्रावधान ऐनमा उल्लेख गरिएको छ। प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा हुँदैछ।

प्रतिक्रिया