बालेन शाहको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी


काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निवेदक धर्मराज तिमिल्सिनाले दिएको उजुरीमा बालेनले निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाइएको छ।

उजुरीमा उल्लेख छ कि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पब्लिक डिबेटको सन्दर्भमा शाहले सामाजिक सञ्जालमार्फत दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको दाबी गरिएको छ। बालेनले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक तथा तथ्यहीन आरोप भएको उजुरीमा उल्लेख छ।

निवेदनमा भनिएको छ कि यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा क्षति पुर्‍याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदाताको मानसिकता भ्रमित गर्ने खतरा रहेको छ। यसले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त रूपमा सम्पन्न हुने संवैधानिक उद्देश्यलाई कमजोर बनाउने र लोकतान्त्रिक बहसलाई हिंसात्मक आरोप तथा अफवाहको तहमा झार्ने खतरा रहेको उल्लेख गरिएको छ।

त्यसैगरी, उजुरीमा महोत्तरी लगायतका क्षेत्रमा रास्वपाले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिने भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गर्दै सो कार्य पनि निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गरिएको छ।

उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग निवेदन गरिएको छ।

प्रतिक्रिया