राष्ट्रियसभा निर्वाचन: गण्डकीमा गठबन्धनको जित


पोखरा –  राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशबाट दुवै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। अन्य समूहमा नेपाली कांग्रेसका जगत तिमिल्सिना र महिलातर्फ नेकपा (एमाले) की सम्झना देवकोटा निर्वाचित भएकी हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य समूहमा कांग्रेसका उम्मेदवार तिमिल्सिनाले नेपाली कम्युनिस्ट पार्टीका कपिल लामालाई ४ हजार ९२ मतभारको फराकिलो अन्तरले पराजित गरे। तिमिल्सिनाले कुल ५ हजार ३३ मतभार प्राप्त गर्दा लामाले ९ सय ४१ मतभार पाए। जनमोर्चाका शंकरप्रसाद बरालले ७६ मतभार प्राप्त गरे।

तिमिल्सिनाले प्रदेश सभातर्फ ४८ मत (२ हजार ५ सय ४४ मतभार) र स्थानीय तहतर्फ १ सय ३१ मत (२ हजार ४ सय ८९ मतभार) हासिल गरेका हुन्।

यस्तै, महिलातर्फ एमालेकी उम्मेदवार सम्झना देवकोटाले ५ हजार १४ मतभार प्राप्त गर्दै विजयी भइन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९ सय ४१ मतभार पाइन् भने जनमोर्चाकी लक्ष्मी वास्कोटाले ७६ मतभार मात्रै प्राप्त गरिन्। देवकोटाले प्रदेश सभातर्फ ४८ मत (२ हजार ५ सय ४४ मतभार) र स्थानीय तहतर्फ १ सय ३० मत (२ हजार ४ सय ७० मतभार) पाएकी हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य समूहमा २ जना प्रदेश सांसद र १ जना स्थानीय तहका जनप्रतिनिधिको मत बदर भएको छ भने महिलातर्फ २ जना प्रदेश सांसद र २ जना स्थानीय तहका जनप्रतिनिधिको मत बदर भएको छ।

गण्डकी प्रदेशमा कुल २ सय २८ मतदाता रहेकामा ५९ सांसद र १६९ स्थानीय तहका जनप्रतिनिधि छन्। प्रदेश सभातर्फ राप्रपाका २ सांसदले मतदान बहिष्कार गरेका छन्। यस्तै, स्थानीय तहतर्फ वालिङकी उपमेयर कविता तिवारी, ढोरपाटनका मेयर देवकुमार नेपाली र मनाङको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले मतदानमा भाग लिएनन्।

यसैगरी सहकारी ठगी मुद्दामा जेलमा रहेका राप्रपाका पञ्चराम गुरुङ र विन्दु पौडेलले पनि निर्वाचन प्रक्रियामा सहभागी भएनन्।

प्रतिक्रिया