
कोटेश्वरबाट नक्कली हतियारसहित दुई जना पक्राउ
काठमाडौं- काठमाडौंको कोटेश्वरबाट नक्कली हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार महानगरपालिका–३२ कोटेश्वरबाट झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहारलाई पक्राउ गरिएको हो।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उनीहरूबाट ३०३ राइफल जस्तो देखिने एउटा डमी, कटुवा पेस्तोल जस्तो देखिने दुई वटा डमी हतियार, खुकुरी जस्तो फलामको हतियार र एउटा मोटरसाइकल बरामद गरेको छ।
सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गर्दा बागमती प्रदेश नम्बर ०२–०१२ प ५८५२ को मोटरसाइकल किरण घिमिरेको भएको खुलासा भएको थियो। नियन्त्रणमा लिएको पश्चात प्रहरीले काठमाडौं महानगरपालिका–३२ स्थित सांस्कृतिक नृत्य कला केन्द्रमा नक्कली हतियार लुकाइएको पाइएको जानकारी दिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको छ।



कागजपत्र |
