फागुन पहिलो हप्ताभित्र देशभर मतपत्र पुर्‍याइने


काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र देशभरका सबै मतदान केन्द्रमा मतपत्र पुर्‍याइसक्ने तयारी गरेको जनाएको छ।

आयोगका अनुसार माघ ९ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुनेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघ महिनाभित्रै प्रत्यक्षतर्फका सबै मतपत्र छपाइ सम्पन्न गरी फागुनको पहिलो साताभित्र ढुवानी सक्ने योजना रहेको जानकारी दिए।

उनका अनुसार समानुपातिक प्रणालीतर्फ हालसम्म डेढ करोड मतपत्र छपाइ भइसकेको छ भने बाँकी ५० लाख मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ।

निर्वाचन सामग्री व्यवस्थापनबारे जानकारी दिँदै प्रवक्ता भट्टराईले निर्वाचनका लागि आवश्यक ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकारका सामग्री सम्बन्धित जिल्लामै खरिद गर्ने व्यवस्था गरिएको बताए। बाँकी १४ प्रकारका सामग्री माघको तेस्रो हप्ताभित्र प्राप्त हुने र खण्ड–खण्डमा विभाजन गरी ढुवानी गरिने आयोगको तयारी छ।

निर्वाचन प्रक्रियामा गलत सूचना फैलिन नदिन आयोगले निरन्तर निगरानी गरिरहेको उनले बताए। गलत सूचना नियन्त्रणका लागि नियमनकारी निकायहरूसँग सहकार्य गर्दै कारबाहीको दायरा पनि विस्तार गरिएको उनको भनाइ छ।

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको नामावली प्रकाशनपछि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म १ हजार ३ सय ४८७ जनाको उम्मेदवारी दर्ता भइसकेको आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया