अमेरिकाबाट डिपोर्ट भएका ९१ नेपाली काठमाडौं आइपुगे


काठमाडौं-  अमेरिकाले एकैदिन डिपोर्ट गरेका ९१ जना नेपाली काठमाडौं आइपुगेका छन्। अमेरिकी सरकारले उनीहरूलाई चार्टर विमानमार्फत काठमाडौं पठाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अनुज भण्डारीका अनुसार सोमबार अमेरिकाबाट ९१ जना नेपाली आइपुगेका हुन्।

भण्डारीका अनुसार, यसअघि पनि अमेरिकाले विभिन्न समयमा नेपालीहरू डिपोर्ट गरेको थियो। पुस ३ मा ७५ जना, भदौ १९ मा ३७ जना र जेठ २५ मा पनि ३७ जना नेपाली चार्टर विमानमार्फत नेपाल ल्याइएका थिए।

अमेरिकामा बस्न कानुनी आधार नभएका नेपाली नागरिकलाई डिपोर्ट गरिएको बताइएको छ। अमेरिकाले डिपोर्ट गर्नुअघि नेपालस्थित अध्यागमन विभागलाई जानकारी दिने गरेको छ। काठमाडौं आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाइएको छ।

अधिकांश डिपोर्ट हुने नेपाली अवैध बाटो हुँदै अमेरिका पुगेका हुने गरेका छन्। त्यसैले उनीहरूलाई आवश्यक सोधपुछ गर्ने र सम्भावित मानव तस्करी सम्बन्धी जानकारी लिने काम प्रहरीले गर्ने गरेको छ।

अमेरिकाले डिपोर्ट गरिएका नेपालीमाथि अवैध प्रवेश, बिनाभिसा बसाई, र गलत मनसायका आरोप लगाएको जनाएको छ।

प्रतिक्रिया