प्रतिनिधि सभा निर्वाचन : सर्वाधिक उम्मेदवार ३६–५० वर्ष उमेर समूहका, महिला ३९५ मात्रै


काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ।

६ माघसम्म प्रतिनिधि सभा प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न ६८ राजनीतिक दलबाट उम्मेदवारहरू मैदानमा उत्रिएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभर ३,४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

उमेर समूहअनुसार उम्मेदवारहरूको विवरणमा, सबैभन्दा धेरै ३६–५० वर्ष उमेर समूहका उम्मेदवार छन्, जसको संख्या १,६१० रहेको छ। ५१–६५ वर्ष उमेर समूहमा १,०९०, २५–३५ वर्षमा ५८३ र ६५ वर्ष माथिका २०१ उम्मेदवार रहेका छन्।

उम्मेदवारहरूको लिङ्गअनुसार, ३,०८८ पुरुष, ३९५ महिला र १ अन्य उम्मेदवार रहेको छ। राजनीतिक दलका तर्फबाट २,२९७ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमा २,०६४ पुरुष र २३५ महिला छन्। स्वतन्त्र उम्मेदवारको संख्या १,१८७ रहेको छ।

निर्वाचन आयोगले प्रारम्भिक सूची सार्वजनिक गरेसँगै उम्मेदवारले दाबी–विरोध वा फिर्ता लिन सक्ने भएकाले संख्या थप–घट हुन सक्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया