
निर्वाचन आयोगसम्म पुग्यो नेपाली कांग्रेसको विवाद
काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद निर्वाचन आयोगसम्म पुगेको छ।
विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेको जानकारी गराउँदै निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन्।
भने, बुधबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको व्यहोराको पत्र निर्वाचन आयोगमा बुझाएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुबै पक्षबाट पत्र प्राप्त भएको पुष्टि गर्दै भने, ‘विशेष महाधिवेशन भइरहेको पत्र हिजै दर्ता भएको छ। आज केन्द्रीय कार्यालयका तर्फबाट अर्को पत्र आएको छ। दुबै पत्रको अध्ययन भने भइसकेको छैन।’
हाल नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी रहेको विशेष महाधिवेशन पक्षको दाबी छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया चलिरहेका बेला केन्द्रीय कार्यसमितिले महामन्त्रीद्वयसहित तीन जनालाई कारबाही गर्ने निर्णय गरेको छ।



कागजपत्र |
