
७ लाख अमेरिकी डलर पाउने लोभमा ६६ वर्षका वेदबहादुरले गुमाए १९ लाख
काठमाडौं- ललितपुरका ६६ वर्षीय वेदबहादुर कुँवरलाई फेसबुकमार्फत झुक्याएर १९ लाख ३४ हजार ३०० रुपैयाँको ठगी गरिएको घटना बाहिरिएको छ। अभियोग पत्र अनुसार, अन्तर्राष्ट्रिय गिरोहले नेपाली नागरिकहरूलाई प्रयोग गरेर सङ्गठित रूपमा ठगी गरिरहेको पाइएको छ।
घटनाको सुरुवात फेसबुक मेसेन्जरबाट भएको थियो। आफूलाई भानिदा सुवान बताउने एक अपरिचित महिलाले कुँवरसँग सम्पर्क गरी थाइल्यान्डको सायम कमर्सियल बैंकमा उनका नातेदारको ६ लाख ९८ हजार अमेरिकी डलर (१० करोड रुपैयाँभन्दा बढी) रहेको र उक्त रकम ट्रान्सफर गरिदिने आश्वासन दिएको बताइएको छ।
कुँवर मोहित भई ‘प्रक्रियागत शुल्क’ तिर्न थाल्छन्। २८ साउन २०८० देखि ६ भदौ २०८० सम्म उनले भारतीय नागरिक नजारा अलीको लक्ष्मी बैंक, टेकु शाखामा ३ लाख १० हजार ७००, सुनसरीका १९ वर्षीय कुसेश्वर मेहताको ग्लोबल आईएमई बैङ्क, विराटनगरमा ८ लाख ८२ हजार ६०० र २५ वर्षीय राजकुमार मेहताको खातामा ७ लाख ४१ हजार रुपैयाँ जम्मा गरे।
कुल १९ लाख ३४ हजार ३०० रुपैयाँ बुझाएपछि, जब डलर आए कि भनेर सोधे, तब उनी ठगिएको कुरा बुझ्छन्। महिला र रकम बुझ्ने व्यक्तिहरू सबै सम्पर्कविहीन भएका थिए।
नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गर्दा ठगीमा सामाजिक सञ्जाल प्रयोग भएको र अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको पुष्टि गरेको छ। ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले सुनसरीका राजकुमार मेहता, कुसेश्वर मेहता र भारत बिहारका नजारा अलीलाई प्रमुख प्रतिवादी बनाएर अभियोग पत्र दर्ता गरेको छ।
हाल तीनै जना फरार छन् र उनीहरूको खोजीको लागि म्याद जारी गरिएको छ।



कागजपत्र |
