राजावादी प्रदर्शनमा सहभागी हुन भन्दै ५० लाख एसएमएस, के भन्छ टेलिकम ?


काठमाडौं –  लाखौं मोबाइल प्रयोगकर्तालाई ३० पुसमा आयोजना हुने राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै एसएमएस पठाइएको विषयमा नेपाल टेलिकमले मुख खाेलेकाे छ। टेलिकमले आफ्नो भ्यालु एडेड सर्भिस (भ्यास) प्रणाली प्रयोग गर्ने केही सेवा प्रदायकले सम्झौता विपरीत राजनीतिक सन्देश पठाएको र ग्राहकको व्यक्तिगत विवरण आफूले उपलब्ध नगराएको दाबी गरेको हो ।

केही दिनयता आकाश एसएमएस र एसआई अलर्टमार्फत ५० लाखभन्दा बढी एसएमएस पठाएर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको थियो । यो घटनालाई ‘एसएमएस आतंक’ र गोपनीयताको गम्भीर उल्लङ्घन भन्दै चौतर्फी आलोचना भएपछि टेलिकमले विज्ञप्ति जारी गरेको हो ।

टेलिकमले विज्ञप्तिमा भनेकाे छ, “हाम्रो भ्यालु एडेड सर्भिस प्रणालीमार्फत विभिन्न सेवा प्रदायकलाई व्यापारिक प्रचार–प्रसारका लागि स्वीकृति दिने गर्दछौँ। तर कुनै पनि अवस्थामा सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण उपलब्ध गराइँदैन।”

प्रयोगकर्तालाई राजावादी प्रदर्शनमा आह्वान गर्ने एसएमएस पठाउने जिम्मेवारी ‘वेदव्यास इन्टरप्राइजेज’ नामक कम्पनीको रहेको र यसले आकाश एसएमएसको प्लेटफर्म प्रयोग गरी ५० लाखभन्दा बढी एसएमएस पठाएको खुलासा भएको छ ।

May be an image of text

प्रतिक्रिया