चितवन म्याजिक दुर्घटनाः मृतक दुवैको पहिचान खुल्यो, ड्राइभरको दुवै खुट्टा भाँचियो


काठमाडौं – चितवनमा म्याजिक गाडी अनियन्त्रित भई खाल्डोमा खस्दा दुई जनाको मृत्यु भएको छ भने ड्राइभरको दुवै खुट्टा भाँच्चिएको छ।

आइतबार बिहान १० बजे भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी सडकको कल्भर्टबाट खाल्डोमा खसेको थियो।

म्याजिक दुर्घटनामा कास्कीको रुपा नगरपालिका–१ का ४३ वर्षीय सुर्य खाती र भरतपुर–४ का ५० वर्षीय राजेन्द्र दमाईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए।

यस्तै भट्टका अनुसार म्याजिक दुर्घटनामा ७ जना घाइते भएको छन्। उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रमुख भट्टले बताए।

घाइतेहरु लमजुङको दोर्जी गाउँपालिका–३ वस्ने ३१ वर्षीय विनोद गुरुङ र रसुवाको कालिका–२ बस्ने १९ वर्षीय प्रदिप घिमिरे र ड्राइभरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

त्यस्तै, म्याजिक चालक भरतपुर–१९ शारदानगर बस्ने ३५ वर्षका रमेश थापाको दुबै खुट्टा भाँचिएर चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख भट्टले बताए।

भरतपुर–६ बस्ने ४७ वर्षीया शारदा परियार, भरतपुर–२१ पार्वतिपुर बस्ने ४८ वर्षीया कुमारी विक, भरतपुर–१९ शारदानगर बस्ने ३२ वर्षीया बबिता गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

भरतपुर–१९ रामपुर बस्ने २४ वर्षीय अनुप लामाको रामपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

गाडी दुर्घटना हुनुको कारण खुलिनसकेकाले थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया