आज रातिदेखि अनिवार्य अवकाशमा जाँदैछन् सशस्त्रका तीन डीआईजी


काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका तीन जना नायब महानिरीक्षक (डीआईजी) आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएका छन्। एक वर्षअघि एक वर्षे म्याद थप पाएका चार जना डीआईजीमध्ये तीन जना आजबाट सेवा निवृत्त हुन लागेका हुन्। तीमध्ये एक जना भने यसबीच अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भइसकेका छन्।

अनिवार्य अवकाशमा जाने डीआईजीहरूमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयको कार्यविभागमा कार्यरत कमल गिरी, मानवस्रोत विभागमा कार्यरत कुलबहादुर नेम्वाङ र स्टाफ कलेजमा कार्यरत शम्भु सुवेदी रहेका छन्। उनीहरूसँगै म्याद थप पाएका गणेशबहादुर ठाडामगर भने यसअघि नै एआईजीमा बढुवा भइसकेका छन्।

सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ६५ (ग) अनुसार डीआईजीको पदावधि चार वर्षको हुने व्यवस्था छ। सोही दफाको उपनियम (२) मा आईजीपीको सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने प्रावधान रहेको छ। यही प्रावधानअनुसार गत वर्ष तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पदावधि सकिन केही घण्टा बाँकी रहँदा उनीहरूको एक वर्ष म्याद थप गरेको थियो।

अवकाशमा जान लागेका डीआईजी कमल गिरी ३ असार २०५६ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरी पछि सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका अधिकारी हुन्। कुलबहादुर नेम्वाङ गिरीपछिको वैकल्पिक सूचीमा परेका थिए। शम्भु सुवेदी भने वर्तमान आईजीपी राजु अर्याल तथा एआईजीद्वय नारायणदत्त पौडेल र वंशीराज दाहालकै ब्याचका अधिकृत हुन्। उनीहरू १८ चैत २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भई पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए।

तत्कालीन एआईजी चन्द्रप्रकाश गौतम २ वैशाख २०८२ को मध्यराति ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा गएपछि एआईजी पदका लागि कमल गिरी र गणेश ठाडामगरबीच कडा प्रतिस्पर्धा भएको थियो। वरीयतामा दोस्रो स्थानमा रहेका ठाडामगरलाई सरकारले एआईजीमा बढुवा गरेपछि पहिलो वरीयताका गिरी भने डीआईजीबाटै अवकाशमा जानुपर्ने अवस्थामा पुगेका हुन्।

एआईजी बढुवाका लागि त्यसबेला आठ जना वरिष्ठ अधिकारीहरूले आवेदन दिएका थिए। बढुवा भएमा तीन वर्षपछि संगठन प्रमुख बन्न सक्ने र नभए डीआईजीबाटै अवकाशमा जानुपर्ने अवस्थाका कारण उक्त बढुवा प्रक्रिया सबैका लागि निर्णायक बनेको थियो। गत पुस २३ गते मात्रै एक वर्ष म्याद थप पाएका तीनै जना डीआईजी आज रातिदेखि औपचारिक रूपमा सेवा निवृत्त हुँदैछन्। उनीहरू अवकाशमा गएपछि रिक्त हुने दरबन्दीमा अब बढुवा प्रक्रिया अघि बढाइने छ।

प्रतिक्रिया