रास्वपालाई फेरि झड्का: डा. रामले बन्द सूचीबाट फिर्ता लिए आफ्नो उम्मेदवारी


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार डा. रामजी रामले आफ्नो नाम बन्द सूचीबाट फिर्ता लिने घोषणा गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै अभियन्ता समेत रहेका डा. रामले स्वेच्छाले नाम फिर्ता लिने निर्णय गरिएको जानकारी दिएका छन्। उनले दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई ध्यानमा राखेर यस्तो निर्णय लिएको बताए।

डा. रामले भने, “दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु। म फरक भूमिकामा रहेर पनि दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा सधैंझैँ दृढ आवाज उठाइरहनेछु।”

डा. राम रास्वपाको समानुपातिक दलित क्लस्टरको चौथो नम्बरमा सिफारिस भएका थिए। उनका साथै हालसम्म बन्द सूचीबाट नाम फिर्ता लिने उम्मेदवारको संख्या आठ पुगेको छ।

प्रतिक्रिया