विवाहित जोडीको ‘अन्तरंग फोटोसुट’ले ल्याएको तरंग
नयाँदिल्ली– सामाजिक सन्जालमा एक भारतीय जोडीले विवाहपछि गराएको ‘अन्तरंग फोटोसुट’ निकै भाइरल भइरहेको छ । यो फोटोसुट ट्रोलरको तिखो नजरमा परेका छन् । तर फोटोसुट गराउने जोडी भने सामाजिक सन्जालबाट त्यो तस्बिरलाई नहटाउने अडानमा अडिग छन् । उनीहरु ट्रोलरको अगाडि नझुक्ने कुरामा सहमत छन् । यी तस्बिरमा जोडी एक चिया बगानमा सेतो रंगको कपडामा हाँस्दै, अंकमाल गर्दै र एकअर्काको पछि भाग्दै गरेको देखिएको छ । लक्ष्मी र ऋषि कार्तिक नामका यी जोडीले गत सेप्टेम्बर महिनामा एक सानो समारोहमा विवाह गरेका थिए । तामझाम बिना गरिएको विवाहलाई यादगार बनाउन उनीहरुले फोटोसुट गराउने निर्णय लिए ।
‘हामीले दुवै परिवारको सहमति अनुसार प्रेमविवाह गरेका हौं । हाम्रो परिवारले गत वर्ष हामीलाई एकअर्कासँग मिलाएको थियो । यसपछि हामीले डेट शुरु गर्यौ र एकअर्कासँग प्रेम गर्न थाल्यौं’, केरलको एर्नाकुलमकी लक्ष्मीले बीबीसीसँग भनेकी छन् । ऋषि एक टेलिकम कम्पनीमा काम गर्छन् र लक्ष्मीले हालै मात्र इलेक्ट्रिकल एण्ड इलेक्ट्रिोनिक इञ्जिनियरिङमा डिग्री हासिल गरेकी छन् ।
यो जोडीले गत अप्रिलमा एक सानदार विवाह गर्ने योजना बनाएका थिए । तर कोरोना भाइरसको महामारीका कारण सबै योजना पानीमै बिलाए । मार्चको अन्त्यतिर भारतमा देशव्यापी लकडाउन भयो र संक्रमणको अनुपातलाई मध्यनजर गर्दै सबै किसिमका कार्यक्रममा प्रतिबन्ध लगाइयो । लकडाउन केही खुकुलो हुन थालेपछि विस्तारै सानो स्तरमा वैवाहिक कार्यक्रमलाई अनुमति दिइयो । यसपछि ऋषि र लक्ष्मीले धेरै नपर्खिकन सेप्टेम्बर १६ मा आफ्नो गृहनगर कोल्लमको एक मन्दिरमा विवाह गरे । ‘यो एउटा खुशियाली वैवाहिक समारोह थियो । तर यसमा केही नजिकका आफन्त तथा परिवारका सदस्यमात्र सहभागी थिए । प्रहरीले ५० जना मात्र उपस्थित हुनुपर्ने अनुमति दिएको थियो । कैयौं धेरै प्रतिबन्ध थिए’, लक्ष्मीले भनेकी छन् । त्यसपछि मात्र यो जोडीले आफ्नो विवाहलाई सम्झनालायक बनाउन फोटोसुट गर्ने निर्णय लिए ।
केरल र भारतका अन्य भागमा कैयौं जोडी आफ्नो विवाहको घोषणा गर्नका लागि परम्परागत रुपबाट हुने विवाहको फोटोग्राफीका अलावा एक ठूलो स्तरमा हुने फोटोसुट पनि गर्छन् । त्यहीकारण पनि ऋषिले उनको पोस्ट वेडि फोटोसुट ‘रोमान्टिक र अन्तरंग’ बनाउन चाहन्थे । त्यसका लागि उनले इन्टरनेटको सहारा लिए र नयाँ सोचका साथ फोटोसुटको अवधारणा बनाए । उनको फोटोग्राफर साथी अखिल कार्तिकेयनले ऋषिको सोचमा काम गर्नका लागि केही घण्टा लाग्ने जानकारी दिए । अनि होटलको कोठाको कम्बल ल्याएर चिया बगानको पृष्ठभूमिा फोटोसुट गराए । ‘यो आफैंमा एक मज्जाको अनुभव थियो । हामी फोटोसुटको दौरा हाँसी रह्यौं । हामी यसलाई लिएर निकै रोमाञ्चित थियौं । यो हाम्रो हनिमुनको एक हिस्सा थियो । हामीले हालैमात्र विवाह गरेका थियौं र हामी स्वतन्त्र महशुस गरिरहेका थियौं’, लक्ष्मीले भनेकी छन् । उनले यो फोटोसुट आफूहरुका लागि समस्या ल्याउने भन्ने कुरा सोच्दै नसोचेका खुलाइन् । समस्या त्यहाँबाट शुरु भयो, जब अखिलले फेसबुकमा दुई दिनपछि फोटो राखे । ट्रोलर्सले तस्बिरहरुलाई ‘अप्रिय’, ‘भद्दा’ र ‘लज्जास्पद’ भन्दै ट्रोलिङ शुरु गरे । केहीले त ती तस्बिरलाई ‘पोर्नोग्राफी’ सम्म भने । कतिपयले त्यसलाई कण्डमको विज्ञापनका लागि खिचाइएकोसम्म पनि भने । कतिले यो जोडीलाई कोठा लिन सुझाव पनि दिए ।
‘हामीले दुई दिनसम्म लगातार घृणा झेल्नुपर्यो । मानिसहरुले हामीलाई नग्नतालाई प्रवद्र्धन गरिरहेको भने । हामीले भित्री कपडा लगाएका थियौं या थिएनौं भन्नेसम्म सोधे । कतिपयले प्रचारप्रसारका लागि र अरुको ध्यान आफूतिर तान्नका लागि भनेर पनि भने’, लक्ष्मीले भनिन् । लक्ष्मीले आफूलाई धेरैले अशब्द प्रयोग गरेको बताइन् । ‘यो मेरो लागि निकै भयावह अवस्था थियो । ट्रोलर्सहरु ऋषिलाई भन्दा बढी मलाई निशाना बनाइरहेका थिए । उनीहरुले मलाई पोर्न फिल्ममा काम गर्न सुझाव दिइरहेका थिए । मलाई लाज लागिरहेको थियो’, लक्ष्मी भन्छिन् । लक्ष्मीका अनुसार ट्रोलर्समा युवती पनि छन् । उनीहरुले आफ्नो विना मेकअपको पुरानो तस्बिर निकालेर अहिलेको तस्बिरसँग तुलना गरेको लक्ष्मीको आरोप छ ।
त्यसो त केही सामाजिक सन्जाल प्रयोगकर्ताले यो जोडीको समर्थन पनि गरेका छन् । कैयौंले ती तस्बिरलाई ‘अद्भुत’ र ‘सुन्दर’ भनेका छन् । केही मानिसले लक्ष्मी र ऋषिलाई ट्रोल्सको कमेन्टमा ध्यान नदिन भनेका छन् । ‘हामीलाई थाहा थिएन कि ट्रोल गर्ने व्यक्तिहरु को थिए । कसले हामीलाई नराम्रो बनाइरहेको छ । हामी हाम्रो समथ्ृनमा आउने व्यक्तिलाई पनि चिन्दैन थियौं । तर हाम्रो समर्थन देख्न हामी खुशी भयौं’, लक्ष्मी भन्छिन् ।
केवल सामाजिक सन्जालका ट्रोलरमात्र होइन, यो फोटोसुटको अनुमति नदिने आफन्तबाट पनि तनाव झेल्नुपर्यो । ‘शुरुमा त हाम्रो आमाबुबाहरु पनि हैरान हुनुभएको थियो । तर जब हामीले उहाँहरुलाई सम्झायौं, उहाँहरु सम्झिनुभयो । त्यसपछि हामीलाई साथ दिनुभयो । तर हाम्रा आफन्तले हामीलाई पश्चिमी सभ्यता अपनाएको आरोप लगाए । उनीहरुले फोन गरेरै यी सबै काम गर्न आवश्यक थिएन भने । उनीहरुले के तिमीहरुले आफ्नो सभ्यता पनि बिर्सेको हो भने’, लक्ष्मी सम्झिन्छिन् ।
उनीहरुलाई कैयौंले तस्बिर हटाउनका लागि भने । लक्ष्मी र ऋषिलाई उनीहरुको फेमिली ह्वाट्सएप ग्रुपबाट पनि हटाइएको थियो । तर उनीहरुले तस्बिर नहटाउने निर्णय लिए । ‘यदि हामी यस्तो गर्छौ भने यसलाई हाम्रो गल्ती मानिएको रुपमा उनीहरुले सोच्नेछन् । जबकी हामीले कुनै गल्ती गरेका छैनौं । हामीले भित्री कपडा पनि लगाएका थियौं’, लक्ष्मी भन्छिन्, ‘शुरुमा हामीलाई यो आलोचनाबाट उम्किन मुस्किल थियो । अब हामीलाई बानी परिसक्यो । हामीलाई थाहा छ कि समाज कस्तो छ र हामी योसँग बाँच्न सिकिरहेका छौं ।’
– बीबीसीबाट