
मन्त्रिपरिषद् बैठकमा तीन मन्त्रीको राजीनामा माग
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन सुझाव दिएकी छन्।
प्रधानमन्त्री कार्कीका अनुसार तीनै मन्त्री राजनीतिक गतिविधिमा बढी सक्रिय रहेको पाइएपछि उनीहरूले राजनीतिक गतिविधि नगरे मात्र आफ्नो पदमा रहनुपर्ने चेतावनी दिइएको हो। राजीनामा दिन सुझाव पाएका मन्त्रीहरूमा ऊर्जा मन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन्।
सूचना अनुसार, सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले विशेषगरी कुलमान घिसिङको सक्रियतामा बढी गम्भीरता देखाएकी थिइन्। हालै घिसिङले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामा मिसाएका थिए र सो पार्टीले उनलाई उपाध्यक्ष बनाएको थियो।
त्यस्तै, बब्लु गुप्ता पनि रास्वपाका गतिविधिमा देखिएका छन् भने सञ्चारमन्त्री खरेलले आफ्नै स्वार्थअनुसार राजनीतिक गतिविधि गरिरहेको प्रधानमन्त्रीको बुझाइ छ।



कागजपत्र |
